बिरगंज, जेष्ठ २४ गते ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको पहलपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पर्सा र बारा जिल्लामा खाद्य स्वच्छता अनुगमनलाई तीव्रता दिएको छ ।
विभागले “मोबाइल फुड ल्याब भ्यान” परिचालन गरी होटल, रेस्टुरेन्ट तथा मिठाई पसलहरूको स्थलगत निरीक्षण गर्दा अधिकांश व्यवसायमा खाद्य सुरक्षा र सरसफाइसम्बन्धी गम्भीर कमजोरी फेला परेका छन् ।
जेठ १७ गते उपभोक्ता हित संरक्षण मञ्चले सार्वजनिक रूपमा खाद्य स्वच्छताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी गरेपछि विभागको टोली अनुगमनमा सक्रिय भएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका प्रमुख सुरेश सिंहको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज, अमलेखगञ्ज, निजगढ र कलैयाका विभिन्न खाद्य व्यवसायको निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा वीरगञ्जका अनमोल स्विट्स, होटल मकालु, होटल पुजन तथा मेजवानी स्विट्समा किचेन सरसफाइ कमजोर रहेको, खाद्य सामग्री असुरक्षित रूपमा भण्डारण गरिएको, खुला डस्टविन प्रयोग गरिएको र बारम्बार तताइएको तेल प्रयोग भएको पाइएको विभागले जनाएको छ। मापदण्डविपरीत प्रयोग भइरहेको तेल तत्काल नष्ट गरिनुका साथै सम्बन्धित व्यवसायीलाई सुधारका लागि निर्देशन दिइएको छ ।
त्यस्तै अमलेखगञ्जका जर्गा होटल, मेची होटल, कल्पवृक्ष होटल, होटल लम्साल तथा निजगढका होटल रुद्राक्ष, चंकि रेस्टुरेन्ट, हाईवे फुड ल्यान्ड रेस्टुरेन्ट र होटल राजमार्गमा पनि खाद्य स्वच्छता मापदण्डको पालना नगरेको भेटिएको थियो। निरीक्षणका क्रममा सरसफाइमा लापरवाही, खुला डस्टविनको प्रयोग र अत्यधिक पटक तताइएको तेल प्रयोगजस्ता समस्या देखिएका थिए ।
शनिबार कलैयाका न्यु कृष्ण स्विट्स, सिद्धु सिद्धार्थ स्विट्स, माँ अन्नापूर्ण स्विट्स र केशर स्विट्समा गरिएको अनुगमनमा पनि कामदारहरूले हेडनेट प्रयोग नगरेको, तेलको पुनःपुनः प्रयोग गरिएको तथा खाद्य सामग्री असुरक्षित ढंगले राखिएको पाइएको बारा उपभोक्ता अधिकारकर्मी अरुण खनालले जानकारी दिनुभयो ।
उपभोक्ता अधिकारकर्मीहरूले विगतमा पनि होटल तथा रेस्टुरेन्टहरूको स्तरियकरण र अनुगमन भए पनि सुधारको गति सन्तोषजनक नरहेको बताएका छन्। उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेलले चेतावनी र निर्देशनका बाबजुद व्यवसायीहरू गम्भीर नबनेको उल्लेख गर्नुभयो। अर्का उपभोक्ता अधिकारकर्मी प्रकाश शाहले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा लापरवाही गर्ने व्यवसायीमाथि कडा कानुनी कारबाही आवश्यक रहेको बताउनुभयो ।
अनुगमन टोलीमा विभागका केमिस्ट पवन कुमार कुर्मी, खाद्य निरीक्षक जगत प्रकाश चौधरी, श्रवण साह, उपभोक्ता अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो ।
स्थानीय उपभोक्ताहरूले खाद्य स्वच्छता मापदण्ड उल्लंघन गर्ने व्यवसायमाथि केवल चेतावनीमा सीमित नरही जरिवाना, स्तर घटाउने तथा आवश्यक परे सञ्चालन अनुमति नै खारेज गर्ने गरी कडा कदम चाल्न सरकारसँग माग गरेका छन् ।


