गाैशाला, जेष्ठ २६ गते ।
राम्रो कमाइ हुने आशामा भारत पुगेका महोत्तरीका १६ जना नेपाली श्रमिक अन्ततः बन्धक बने। परिवारसहित भारत पुगेका उनीहरूलाई कामको नाममा नियन्त्रणमा राखियो, कुटपिट गरियो र मानसिक यातना समेत दिइयो। तर, पीडितहरूले आफूहरूमाथि भएको दुर्व्यवहारका तस्बिर र भिडियो नेपालमा रहेका आफन्तलाई पठाएपछि घटनाको वास्तविकता बाहिर आयो ।
महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जना श्रमिकलाई भारतको हरियाणा राज्यमा बन्धक बनाइएको अवस्थामा उद्धार गरिएको छ। उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ ।
स्थानीयका अनुसार राम्रो तलब र सहज कामको प्रलोभन देखाएर उनीहरूलाई भारत लगिएको थियो। प्रारम्भिक अनुसन्धानमा दिलिप परियार नामका व्यक्तिले कुखुरा फार्ममा काम लगाइदिने आश्वासन दिएर उनीहरूलाई भारत पुर्याएको खुलेको छ ।
भारत पुगेपछि भने अवस्था सोचेजस्तो रहेन। श्रमिकहरूलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न नदिने, डर–त्रास देखाउने, कुटपिट गर्ने र काम गरेबापतको पारिश्रमिकसमेत नदिने गरिएको बताइएको छ। लामो समयसम्म यातना सहन बाध्य भएका पीडितहरूले अन्ततः आफ्नो पीडा परिवारसम्म पुर्याएपछि उद्धारको प्रयास सुरु भएको थियो ।
आफन्त इण्डियाको सहयोग, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय तथा इलाका प्रहरी कार्यालय बर्दिबासको पहलमा भारतीय प्रहरीको सहयोग लिएर उनीहरूको उद्धार गरिएको हो। उद्धारका क्रममा पीडितहरूले पाउनुपर्ने ज्यालासमेत सम्बन्धित पक्षबाट उपलब्ध गराइएको बताइएको छ ।
परिवारजनले आफ्ना छोरा–छोरी र श्रीमतीहरू बन्धक बनाइएको भन्दै खोजी तथा उद्धारका लागि प्रहरी र नेपाली दूतावासमा गुहार मागेका थिए। त्यसपछि सरकारी तथा गैरसरकारी निकायको समन्वयमा उद्धार अभियान अघि बढाइएको थियो ।
उद्धार गरिएका सबै नेपालीलाई आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी स्वदेश फर्काइँदै छ। घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको र कानुनी कारबाहीको प्रक्रिया समेत अगाडि बढाइएको जनाइएको छ ।
विदेशमा रोजगारीको प्रलोभनमा परेर श्रम शोषण र मानव बेचबिखनजस्ता जोखिम बढ्दै गएको अवस्थामा यो घटनाले सुरक्षित वैदेशिक रोजगारी र सचेतनाको आवश्यकता फेरि उजागर गरेको छ ।


