इटहरी, जेष्ठ ३१ गते ।
विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले रोटर्याक्ट क्लब अफ इटहरीले सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकली, सुनसरीलाई विभिन्न विपद् राहत सामग्री हस्तान्तरण गरेको छ ।
रोटर्याक्ट क्लब अफ इटहरीको आयोजनामा तथा रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा सम्पन्न कार्यक्रममा विपद् उद्धार तथा व्यवस्थापनमा प्रयोग हुने आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो। क्लबका अनुसार हस्तान्तरण गरिएका सामग्रीहरूको कुल मूल्य करिब २ लाख ५० हजार रुपैयाँ रहेको छ ।
कार्यक्रममा फायर बल, पोर्टेबल मेगाफोन, ड्राइ ब्याग, स्विमिङ बुट, रेस्क्यु थ्रो रोप, लाइफ ब्वाय रिङ, लाइफ ज्याकेट, सेफ्टी हेल्मेट, स्ट्रेचर, वाकी-टकी, फायर एक्स्टिङ्गुइशर, रेनकोट तथा फर्स्ट एड किटलगायत सामग्री सशस्त्र प्रहरीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल ले यस्ता सहयोगले विपद् व्यवस्थापन क्षमतालाई सुदृढ बनाउनुका साथै समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँले रोटर्याक्ट क्लब अफ इटहरीप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले उद्धार तथा राहत कार्यमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रोटर्याक्ट क्लब अफ इटहरीका अध्यक्ष शीतल धिताल ले विपद्का बेला प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक सामग्री उपलब्ध गराइएको बताउँदै आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सशस्त्र प्रहरीसँग सहकार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोटरी तथा रोटर्याक्टका पदाधिकारी, सशस्त्र प्रहरी बलका अधिकारी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता सहकार्यले सरकारी सुरक्षा निकाय र सामाजिक संस्थाबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
विपद् जोखिम न्यूनीकरण र उद्धार क्षमताको अभिवृद्धिमा केन्द्रित उक्त कार्यक्रमले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाप्रति रोटर्याक्ट क्लब अफ इटहरीको प्रतिबद्धतालाई थप उजागर गरेको आयोजकको भनाइ छ।

