बर्दिवास, असार २ गते ।
महोत्तरीको बर्दिबास नगरपालिका–१२ स्थित अकुवानटोल–पाखरगाछी सडक खण्डमा सडक ढलानको काम अघि बढ्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेस प्रदेश अन्तर्गत भौतिक विकास पूर्वाधार कार्यालय जलेश्वरको आर्थिक सहयोगमा उक्त सडक निर्माण हुन लागेको हो ।
कार्यालयका इन्जिनियर बिरेन्द्र साहका अनुसार योजनाको कुल लागत भ्याटसहित ३६ लाख रुपैयाँ रहेको छ भने निर्माण लागत ३१ लाख ५५ हजार ८०९ रुपैयाँ रहेको छ। निर्माणको जिम्मा गहिल कन्स्ट्रक्सन, सप्तरीले पाएको छ । योजनाअन्तर्गत अकुवानटोल–पाखरगाछी सडक खण्डमा १७५ मिटर सडक ढलान गरिनेछ। निर्माण कार्यको तयारीका क्रममा सरोकारवालाहरूले स्थलगत निरीक्षण (साइट भिजिट) समेत गरेका छन् ।
स्थलगत निरीक्षणमा युवा नेता शंकर महतो, बर्दिबास नगरपालिका–१३ का वडा सदस्य ठाइक महतो, बिजलपुरा रुपान्तरण अभियानका संयोजक राजकरण महतो, स्थानीय हरि महतो लगायत स्थानीयवासीको सहभागिता रहेको थियो।
स्थानीयहरूले सडक ढलानपछि वर्षायाममा हुने हिलो तथा आवागमन समस्याको समाधान हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन् ।
बिजलपुरा क्षेत्रमा पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यका साथ सञ्चालन भइरहेको बिजलपुरा रुपान्तरण अभियान अन्तर्गत सडक, शिक्षा, कृषि तथा अन्य विकास निर्माणका गतिविधिहरूलाई निरन्तर अगाडि बढाइँदै आएको छ ।

