गौशाला, असार ३ गते ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सदस्य तथा रेडियो रुपान्तरणका प्रमुख धनवीर महतोका पिता रामअशिष महतोको निधन भएको छ । ७९ वर्षीय महतोको मंगलबार साँझ उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारले जनाएको छ ।
मुटुसम्बन्धी समस्याबाट पीडित महतोलाई केही दिनअघि काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नआएपछि उपचारकै क्रममा मंगलबार साँझ करिब ७ बजे उनले अन्तिम सास फेरेका हुन् ।
महोत्तरीको गौशाला नगरपालिका–१ रामनगर निवासी स्वर्गीय महतो गाउँ समाजमा सरल, मिलनसार तथा सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए। उनको निधनको खबरसँगै स्थानीयवासी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन् ।
परिवारका अनुसार स्वर्गीय रामअशिष महतोको अन्त्येष्टि बुधबार बिहान पारिवारिक तथा धार्मिक परम्पराअनुसार गरिनेछ। उनका दुई छोरा र दुई छोरी रहेका छन् ।

