ढोरपाटन, असार ३ गते
दुर्गम भेगका गर्भवती तथा सुत्केरी महिलालाई आपतकालीन अवस्थामा अस्पतालसम्म पुर्याउन गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको निःशुल्क हवाई उद्धार सेवा प्रभावकारी बन्दै गएको छ।
प्रदेश सरकारले जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा नवजात शिशुको जीवनरक्षा गर्न हेलिकप्टरमार्फत उद्धार सेवा सञ्चालन गर्दै आएको हो। सात वर्षको अवधिमा हालसम्म ७१ जना गर्भवती तथा सुत्केरी महिलाले यस सेवाबाट लाभ लिएका छन्।
प्रदेश स्वास्थ्य मन्त्रालयका तथ्याङ्कअनुसार सबैभन्दा धेरै उद्धार सुरुवाती वर्ष २०७७ मा ३३ जनाको भएको थियो। त्यसपछि २०७८ मा ८ जना, २०७९ मा ५ जना, २०८० मा ४ जना, २०८१ मा १ जना र २०८२ मा ६ जनाको उद्धार गरिएको छ। कार्यक्रम सुरु हुनुअघि ४ जनाले समेत यो सेवा लिएको उल्लेख छ।
जिल्लागत रूपमा हेर्दा बागलुङबाट सबैभन्दा बढी ३० जना महिलाको हवाई उद्धार गरिएको छ। त्यसपछि म्याग्दीका १८, गोरखाका ६, मुस्ताङका ५, लमजुङका ४ तथा पर्वत र मनाङका २/२ जना लाभान्वित भएका छन्।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार पछिल्ला वर्षहरूमा स्थानीय तहमा प्रसूति सेवा सुधार हुँदै गएको छ। गाउँ–गाउँमा अस्पताल तथा स्वास्थ्य संस्थाको क्षमता बढेपछि हवाई उद्धारको संख्या घट्दै गएको देखिएको हो। तर भौगोलिक विकटता र आकस्मिक जटिलताका कारण केही अवस्थामा अझै पनि हेलिकप्टर अनिवार्य हुने अवस्था रहँदै आएको छ।
गर्भवती तथा २८ दिनसम्मका नवजात शिशुमा गम्भीर समस्या देखिएमा निःशुल्क हवाई उद्धार गरिँदै आएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिँदै १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

