गाैशाला, असार ७ गते ।
महोत्तरीको गौशाला नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ५ लाख १ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख डा. दिपेन्द्र महताेले नगरसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि उत्पादन वृद्धि, रोजगार सिर्जना तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १६ करोड ९ लाख रुपैयाँ, राजस्व बाँडफाँडतर्फ १४ करोड ४१ लाख ७४ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ ३० करोड ३९ लाख रुपैयाँ, विशेष अनुदानतर्फ २ करोड ८२ लाख रुपैयाँ तथा समपूरक अनुदानतर्फ १ करोड २२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमा १ करोड ११ लाख १२ हजार रुपैयाँ, विशेष, समपूरक तथा सशर्त अनुदान गरी १ करोड १० लाख रुपैयाँ र प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ५ लाख ३८ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
नगरपालिकाले स्थानीय स्रोततर्फ स्थानीय राजस्व बाँडफाँडबाट ५ करोड रुपैयाँ, आन्तरिक आयबाट ५ करोड ७८ लाख १५ हजार रुपैयाँ तथा बैंक मौज्दात र अन्य स्रोतबाट २१ करोड ६ लाख ६२ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।
नगरसभामा वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी, नागरिक समाजका प्रतिनिधि, विभिन्न बाल क्लबका अध्यक्ष, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले बजेटको प्रभावकारी कार्यान्वयन हुन सके नगरको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा दीर्घकालीन समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
बजेट वक्तव्यको अन्त्यमा नगर प्रमुख महतोले नगरको विकास यात्रामा सहयोग पुर्याउने करदाता, नागरिक, विकास साझेदार, सरकारी तथा गैरसरकारी संस्था, सामुदायिक संघ–संस्था र सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै बजेट कार्यान्वयनमा सबै पक्षको सहकार्य र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो ।

