गाैशाला, असार ८ गते ।
महाेत्तरीकाे रामगोपालपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४९ करोड ५५ लाख ३८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । १४ औँ नगरसभाको खुला अधिवेशनमा नगर प्रमख राम दुलार शाहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
सार्वजनिक गरेको बजेट अनुसार सबैभन्दा ठूलो हिस्सा संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान र राजस्व बाँडफाँडमा आधारित रहेकोछ । जसमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान तर्फ ९ करोड ८० लाख, सशर्त अनुदान तर्फ १६ करोड ७६ लाख, विशेष अनुदान तर्फ ३ करोड ३० लाख, समपूरक अनुदान तर्फ १ करोड ७० लाख र राजस्व बाँडफाँडबाट ९ करोड ५७ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी बजेटमा प्रदेश सरकारको तर्फबाट वित्तीय समानीकरणमा ६६ लाख ४७ हजार, विशेष अनुदानमा २० लाख, समपूरक अनुदानमा ३० लाख, राजस्व बाँडफाँडमा ६५ लाख र सशर्त अनुदानमा ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहको आफ्नै आन्तरिक तथा स्थानीय स्रोततर्फ आन्तरिक आम्दानीबाट ३ करोड, मालपोतबापत प्राप्त हुने स्थानीय राजस्वबाट १ करोड ५० लाख र गत वर्षको बचत (अल्या) रकमबाट १ करोड ५० लाख रुपैयाँ संकलन हुने विवरणमा उल्लेख छ । कुल ४९ करोड ५५ लाख ३८ हजार रुपैयाँको यो बजेटले स्थानीय क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा चालु खर्चहरूलाई व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।
मधेश प्रदेशका पुर्व मुख्यमन्त्री सराेज यादवको प्रमुख अतिथिमा नगरसभामा नगर प्रमुख शाहले रामगोपालपुरको कृषि तथा पशुपालनको आधुनिकीकरण, व्यावसायिक खेती विस्तार तथा युवालाई उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्ने कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।
यसका अतिरिक्त गरिबी न्यूनीकरण, महिला तथा सामाजिक समावेशीकरण, कला, संस्कृति, खेलकुद, कुषि तथा पशुपालन, उधाेग, वाणिज्य, पर्टटन र राेजगारी, सहकारी, शिक्षा, स्वास्थ्य, सांस्कृतिक रुपान्तरण, लैगिंक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, सिँचाइ, सहरी विकास, सञ्चार, वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्थागत विकास र सुशासनका क्षेत्रमा समेत विभिन्न कार्यक्रम तथा योजनाका लागि बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

