https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, असार ८ गते ।
महोत्तरीको औरही नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड ६९ लाख १७ हजार रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ। “शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार : समृद्ध औरहीको आधार” भन्ने मूल नारासहित नगरपालिकाले विकास निर्माण, प्रविधिमैत्री सुशासन र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेको जनाएको छ ।

औरही नगरपालिकाको १८ औँ नगरसभाको विशेष अधिवेशन नगर प्रमुख तथा सभाध्यक्ष प्रदीप कुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामआशिष यादव प्रमुख अतिथि, नगर उपप्रमुख रेणु झा तथा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्ण विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

नगरसभामा बजेट प्रस्तुत गर्दै नगर प्रमुख खड्काले नेपाल सरकारबाट ३८ करोड ७ लाख ३० हजार, प्रदेश सरकारबाट १ करोड ७५ लाख ९८ हजार, आन्तरिक राजस्वबाट १ करोड ५० लाख तथा नगद मौज्दातबाट ५ करोड ३५ लाख ८९ हजार रुपैयाँ स्रोत व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको समीक्षा गर्दै उहाँले नगर क्षेत्रमा थप ५ किलोमिटर सडक निर्माण सम्पन्न भएको तथा ९ वडामध्ये ६ वटा वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएको बताउनुभयो ।

आगामी वर्षका लागि नगरपालिकाले डिजिटल सुशासनलाई विशेष प्राथमिकता दिएको छ। स्वास्थ्य संस्थासम्म विद्युतीय हाजिरी प्रणाली विस्तार गर्ने, सामाजिक सुरक्षा भत्ता वितरणलाई बायोमेट्रिक तथा ईएफटी प्रणालीमार्फत सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

शिक्षा क्षेत्रमा विपन्न तथा जेहेन्दार छात्राहरूलाई साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिइने, जीवनोपयोगी तथा सीपमूलक शिक्षामा जोड दिइने नीति लिइएको छ। स्वास्थ्यतर्फ १५ शैयाको आँखा अस्पताल निर्माण प्रक्रिया अगाडि बढाइने तथा क्षयरोग र कुपोषण न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

पूर्वाधार विकासअन्तर्गत नयाँ सडक आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने, सडकसँगै नाला निर्माणलाई अनिवार्य बनाउने तथा ‘हरित सडक’ अवधारणाअनुसार वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

कृषि क्षेत्रको विकासका लागि बाँझो जमिन उपयोग गर्ने कृषकलाई बीउ तथा कृषि औजारमा अनुदान, माटो परीक्षण सेवा, स्यालो ट्युबवेल तथा कृषि उपकरण उपलब्ध गराउने कार्यक्रम बजेटमा समेटिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख यादवले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनअपेक्षा र आवश्यकताअनुसार नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख कर्णले स्थानीय तहको विकासका लागि पारदर्शिता, गुणस्तरीयता र जनसहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो ।

नगरसभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष तथा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। अन्त्यमा नगर प्रमुख खड्काले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै विशेष अधिवेशन समापन भएको घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार