गाैशाला, असार ९ गते ।
महोत्तरीको एकडारा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ करोड २ लाख ५७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। १६ औँ गाउँसभाको अवसरमा आयोजित अधिवेशनमा गाउँपालिका अध्यक्ष दीपनारायण मण्डल ले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य सेवाको सुधार, सडक तथा भौतिक पूर्वाधार निर्माण, खानेपानी तथा सरसफाइ, सामाजिक सुरक्षा, महिला सशक्तीकरण, युवा तथा खेलकुद विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ । स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर दिगो विकास र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्य बजेटले लिएको अध्यक्ष मण्डलले बताउनुभयो ।
गाउँसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रामआशिष यादवले स्थानीय तहले जनअपेक्षाअनुसार काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आत्मसात् गर्दै विकास योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, सञ्चारकर्मी, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गर्दै सहभागीहरूले विकासका योजनालाई परिणाममुखी बनाउन सुझावसमेत दिएका थिए ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटले पूर्वाधार विकाससँगै सामाजिक तथा आर्थिक क्षेत्रको सुदृढीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।


