गाैशाला, असार १९ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिकामा ड्युटीमा रहेका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरेपछि नगरपालिकाका कर्मचारीहरूले आन्दोलनको घोषणा गर्दै सम्पूर्ण सेवा प्रवाह बन्द गरेका छन् ।
नगरपालिकाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बिहीबार साँझ करिब ५ बजे कार्यालयमा ड्युटीमा खटिएका नगर प्रहरीहरूलाई कुनै पूर्वसूचना वा समन्वयबिना नेपाल प्रहरीको टोलीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो। उक्त घटनाप्रति घोर आपत्ति जनाउँदै कर्मचारीहरूले आफूहरू असुरक्षित महसुस गरेको बताएका छन् ।
विज्ञप्तिमा स्थानीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्दै पक्राउ परेका नगर प्रहरीलाई तत्काल रिहा गर्न तथा नगरपालिकामा कार्यरत कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गरिएको छ ।
नगरपालिकाका कर्मचारीहरूले आफ्ना सहकर्मीहरूको पक्राउको विरोधमा पेन–डाउन आन्दोलन सुरु गरेका छन्। उनीहरूले पक्राउ परेका नगर प्रहरीको अविलम्ब रिहाइ तथा कर्मचारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा प्रवाह नगर्ने निर्णय गरेका छन् ।

