काठमाडौँ, असार २१ गते।
देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपास रहेको छ ।
हाल यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका अधिकांश हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्य बदली रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ ।
देशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, कोशी र बागमती प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा आज भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। सम्भावित भारी वर्षाका कारण ती क्षेत्रका नदी, खोला तथा पहाडी भूभागमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थान, कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

