राजेश सिंह
गौशाला, असार ३२ गते ।
महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २४ घण्टा सञ्चालन हुने बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले सञ्चालनमा ल्याएको उक्त बर्थिङ सेन्टरले अब स्थानीय गर्भवती महिलालाई आफ्नै पालिकामा सुरक्षित सुत्केरी सेवा उपलब्ध गराउने भएको छ ।

गाउँपालिका अध्यक्ष विशेश्वर यादवले रिबन काटेर तथा शिलालेख अनावरण गर्दै बर्थिङ सेन्टरको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले स्थानीयवासीको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो। साथै आगामी दिनमा वडा नं. १ र वडा नं. ४ मा पनि यस्तै बर्थिङ सेन्टर स्थापना गरी सेवा विस्तार गरिने योजना रहेको जानकारी दिनुभयो ।

गाउँपालिकाले बर्थिङ सेन्टरमार्फत २४सै घण्टा सुरक्षित सुत्केरी सेवा उपलब्ध गराउने जनाएको छ। यससँगै २४ घण्टा एम्बुलेन्स सेवा, सुत्केरी महिलालाई रु. १ हजार यातायात खर्च, एक सेट कपडा तथा गर्भावस्थामा आठ पटक स्वास्थ्य परीक्षण गराउने गर्भवती महिलालाई रु. ८ सय प्रोत्साहन रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

गाउँपालिकाका अनुसार अब सुरक्षित सुत्केरी सेवाका लागि सोनमा गाउँपालिकाका महिलाले अन्य पालिकामा धाउनुपर्ने बाध्यता हट्नेछ। यस सेवाले आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुका साथै मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

वडा नं. ७ का अध्यक्ष इन्द्रजित यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नं. १ का अध्यक्ष अशोक यादव, वडा नं. ८ का अध्यक्ष सुनिल कुशवाहा, वडा सदस्य तथा कार्यपालिका सदस्यहरू, स्वास्थ्य कार्यालय महोत्तरीकी फोकल पर्सन प्रतिभा सिंह, विभिन्न वडाका सचिवहरू, गौशाला प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. अमरेश सिंह, स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार