रामजी यादव
पर्सा, साउन ४ गते ।
पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२ बैरिया बिर्तास्थित श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय परिसरमा विद्युत् ट्रान्सफर्मर जडान गरिएपछि विद्यार्थीको सुरक्षालाई लिएर स्थानीयस्तरमा गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
विद्यालयमा अध्ययनरत बालबालिकाको दैनिक आवतजावत हुने स्थानको नजिकै ट्रान्सफर्मर जडान गरिएको भन्दै अभिभावक, शिक्षक तथा स्थानीयवासीले त्यसलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
स्थानीयका अनुसार विद्यालयजस्तो संवेदनशील क्षेत्रमा आवश्यक सुरक्षा मापदण्ड पूरा नगरी उच्च भोल्टेजको ट्रान्सफर्मर जडान गरिनु बालबालिकाको जीवनलाई जोखिममा पार्ने कार्य हो। उनीहरूले सम्भावित दुर्घटना रोक्न ट्रान्सफर्मर सुरक्षित स्थानमा सार्न तथा आवश्यक सुरक्षा घेराबारा र अन्य सुरक्षाका उपाय तत्काल अपनाउन आग्रह गरेका छन् ।
विद्यार्थीको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै स्थानीयवासीले सम्बन्धित निकायले विषयलाई गम्भीरतापूर्वक लिएर शीघ्र आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्। हालसम्म यस विषयमा सम्बन्धित निकायको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

