गौशाला, साउन ४ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिकामा पछिल्ला वर्षहरूमा धार्मिक तथा आध्यात्मिक गतिविधिप्रति स्थानीयवासीको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। नगरका विभिन्न मठ–मन्दिरमा नियमित पूजाआजा, धार्मिक अनुष्ठान तथा विशेष पर्वका अवसरमा हुने कार्यक्रमहरूले धार्मिक वातावरणलाई थप सुदृढ बनाएका छन् ।

गौशाला नगरपालिकामा रहेको गौशाला दुर्गा मन्दिर, कान्तिबजार दुर्गा मन्दिर तथा कालीपुरस्थित शनि बाबा मन्दिर प्रमुख धार्मिक आस्थाका केन्द्रका रूपमा परिचित छन्। गौशाला दुर्गा मन्दिरमा वर्षभरि नियमित पूजाआजा हुने गर्दछ भने बडादशैंमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिन्छ। त्यसैगरी कान्तिबजार दुर्गा मन्दिरमा चैते दशैंका अवसरमा विशेष पूजाआजा र धार्मिक अनुष्ठान हुने गरेका छन् ।

कालीपुरस्थित शनि बाबा मन्दिर स्थानीय परम्परा तथा विशेष धार्मिक विधिका कारण चर्चित छ। यहाँ नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहार राज्यबाट समेत श्रद्धालु दर्शनका लागि आउने गरेका छन् ।

यसै धार्मिक वातावरणबीच गौशाला नगरपालिकामा पहिलो पटक भगवान् जगन्नाथको रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ। रथयात्रामा विभिन्न साधुसन्त, महन्त, धार्मिक अगुवा तथा हजारौं श्रद्धालु भक्तजनको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पुलचोकबाट स्वागत गरिएको रथयात्रा सुन्दरपुर, फुलकाहा, गौशाला बजारको भित्री क्षेत्र र निगौल चोक हुँदै कवर्ड हलमा पुगेर सम्पन्न भएको थियो। यात्राका क्रममा विभिन्न स्थानमा श्रद्धालुका लागि शरबत तथा पिउने पानीको निःशुल्क व्यवस्था गरिएको थियो भने भजन–कीर्तनले धार्मिक वातावरणलाई थप उल्लासमय बनाएको थियो ।

स्थानीयवासीले पहिलोपटक आयोजना गरिएको रथयात्रालाई ऐतिहासिक र सफल कार्यक्रमका रूपमा लिएका छन्। साथै आगामी वर्षहरूमा यसलाई अझ व्यवस्थित, सुरक्षित र भव्य बनाउन ट्राफिक व्यवस्थापन, स्वयंसेवक परिचालन, सरसफाइ तथा भक्तजनका लागि थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

स्थानीयका अनुसार यस्ता धार्मिक कार्यक्रमको निरन्तरताले गौशालालाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्नेछ। यसबाट नगरको धार्मिक, सांस्कृतिक तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार