नयाँ दिल्ली, साउन ४ गते
भारतको राजधानी नयाँ दिल्लीस्थित संसद भवन नजिक सोमबार हजारौँ प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका छन् ।
संसदको मनसुन अधिवेशन चलिरहेका बेला आयोजित ‘चलो संसद’ मार्चमा सहभागी प्रदर्शनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, परीक्षा प्रणालीमा सुधार तथा युवा सम्बन्धी विभिन्न माग अघि सारेका छन् ।
प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली प्रहरीले संसद क्षेत्र वरिपरि कडा सुरक्षा व्यवस्था अपनाएको थियो । प्रदर्शनका क्रममा केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने केही स्थानमा भीड नियन्त्रणका लागि अश्रुग्याससमेत प्रयोग गरिएको खबर सार्वजनिक भएका छन् ।
यद्यपि प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप अस्वीकार गरेको जनाएको छ । प्रदर्शनका कारण संसद आसपासको क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

