रौतहट, साउन ६ गते ।
रौतहटको गैडाटार सब-डिभिजन वन कार्यालयबाट खटिएको वन गस्ती टोलीले विशेष सूचनाको आधारमा अवैध रूपमा काटिएको सालको काठ बरामद गरेको छ ।

चन्द्रपुर नगरपालिका–२ स्थित हिलेखोलामाथिको जंगल क्षेत्रमा गस्ती गर्ने क्रममा केही व्यक्तिहरूले सुकेको सालको रुख अवैध रूपमा काटी सोही स्थानमा चिरान गरिरहेको अवस्थामा वन कर्मचारीले चारैतर्फबाट घेरा हाली पक्राउ गर्ने प्रयास गरेका थिए । तर, वन कर्मचारीलाई देख्नासाथ तस्करहरू काठ छाडेर फरार भएका थिए ।

वन गस्ती टोलीले घटनास्थलबाट साल जातको ५ थान गोलिया काठ, कुल ३०.२४ क्युबिक फिट, बरामद गरी आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, रौतहटमा ल्याएको जनाएको छ ।

वन कार्यालयका अनुसार अवैध चोरिकटानीमा संलग्न फरार व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी छ। साथै, वन क्षेत्रको संरक्षण तथा अवैध कटानी नियन्त्रणका लागि नियमित गस्ती र निगरानीलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार