डिके यादव
साेनमा, साउन १२ गते ।
महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा हालै सञ्चालनमा आएको वर्थिङ सेन्टरमा पहिलो पटक सफलतापूर्वक शिशुको जन्म भएको छ । असार ३२ गते उद्घाटन गरिएको उक्त प्रसूति केन्द्रमा साउन ११ गते पहिलो छोरा शिशुको सुरक्षित जन्म भएको हो ।

सोनमा गाउँपालिका–१ निवासी जोगिन्द्र यादवकी छोरी इन्द्रा देवी यादवले सुन्दरपुर वर्थिङ सेन्टरमा शिशुलाई जन्म दिएको हो । उनको विवाह सोनमा गाउँपालिका–५ खैरबनीमा भएको छ । स्वास्थ्यकर्मीका अनुसार सुत्केरी आमा र नवजात शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य र पूर्ण रूपमा स्वस्थ रहेको छ ।

बर्थिङ सेन्टरमा पहिलो शिशुको जन्म भएपछि सोनमा गाउँपालिकाका अध्यक्ष बिशेश्वर प्रसाद यादव अस्पताल पुगेर आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले सुत्केरी आमालाई कपडा, होरलिक्स तथा यातायात खर्चस्वरूप नगद सहयोगसमेत प्रदान गर्नुभयो ।

यस अवसरमा अध्यक्ष यादवले ग्रामीण भेगका गर्भवती महिलाले सामान्य प्रसूतिका लागि समेत टाढा जानुपर्ने बाध्यता हटाउने उद्देश्यले बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । उद्घाटन भएको छोटो समयमै पहिलो सुरक्षित प्रसूति हुनुलाई गाउँपालिकाको स्वास्थ्य अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा उहाँले उल्लेख गर्नुभयो ।

उहाँले आगामी दिनमा बर्थिङ सेन्टरलाई थप उपकरण, आवश्यक जनशक्ति र चिकित्सकको नियमित उपस्थिति सहित अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

गर्भवती इन्द्रा देवीलाई गाउँपालिकाकै एम्बुलेन्स मार्फत सुरक्षित रूपमा बर्थिङ सेन्टर ल्याइएको थियो । प्रसूति सम्पन्न भई चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज भएपछि उहाँ र नवजात शिशुलाई पुनः गाउँपालिकाकै एम्बुलेन्स मार्फत सुरक्षित रूपमा खैरबनीस्थित घरसम्म पुर्‍याइएको पालिकाले जनाएको छ ।

सोनमा गाउँपालिकाका स्वास्थ्य संयोजक जितेन्द्र कुमार साहका अनुसार सुन्दरपुर बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय महिलाले सामान्य प्रसूतिका लागि टाढा धाउनुपर्ने बाध्यता हटकाे छ । स्थानीयस्तरमै गुणस्तरीय सुरक्षित मातृत्व सेवा उपलब्ध हुन थालेपछि ग्रामीण क्षेत्रका गर्भवती महिलाहरुलाई ठूलो राहत पुग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार