गाैशाला, साउन १३ गते ।
महोत्तरीको बलवा नगरपालिका–९ र ११ को संयुक्त अधिकार क्षेत्रभित्र पर्ने रौजा बजार व्यवस्थापन आयोजनाको शिलान्यास सम्पन्न भएको छ ।
बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख राम विजय महतो, वडा नं. ९ का अध्यक्ष सनिउल्ला शेष तथा वडा नं. ११ का अध्यक्ष अशोक यादवले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, युवा, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
करिब रु. ३ करोड २५ लाख लागतमा निर्माण हुने उक्त आयोजनाअन्तर्गत दुईवटा पक्की व्यापारिक भवन, दुईवटा बजार सेड, वर्षाको पानी निकासका लागि नाला, पक्की सडक, पदमार्गमा कङ्क्रिट ब्लक बिछ्याउने कार्य तथा सार्वजनिक शौचालय निर्माणलगायतका पूर्वाधार विकासका काम गरिने जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राम विजय महतोले रौजा बजारलाई व्यवस्थित, सुरक्षित र आधुनिक बजारका रूपमा विकास गर्ने उद्देश्यले आयोजना अघि बढाइएको बताउनुभयो ।
आयोजना सम्पन्न भएपछि बजार क्षेत्रको सौन्दर्य अभिवृद्धि हुनुका साथै व्यापार–व्यवसाय विस्तार, स्थानीय आर्थिक गतिविधिमा वृद्धि, नागरिकलाई सहज तथा गुणस्तरीय सेवा प्रवाह र नगरपालिकाको आन्तरिक राजस्व वृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
स्थानीयवासीहरूले पनि आयोजना निर्धारित समयमै सम्पन्न भई सञ्चालनमा आएपछि बजार व्यवस्थापन थप प्रभावकारी बन्ने, व्यापारिक गतिविधि विस्तार हुने तथा समग्र क्षेत्रको आर्थिक र सामाजिक विकासमा सकारात्मक टेवा पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

