सिरहा, साउन १५ गते ।
सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थी गणेश यादवको शोकमा सिरहाको औरही गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

औरही गाउँपालिका–२ तुलसीपुर निवासी अन्दाजी १७ वर्षीय यादव गोलबजारस्थित माउन्ट एभरेस्ट विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले शोक बिदा घोषणा गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत देव शरण यादवद्वारा जारी सूचनामा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। सूचनाअनुसार शुक्रबार साउन १५ गते गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था (आकस्मिक सेवाबाहेक) तथा मातहतका निकायहरूमा शोक बिदा दिइएको छ ।

साथै गाउँपालिकाले यस दुःखद् परिस्थितिमा सम्पूर्ण समुदाय, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि, धर्मगुरु, सञ्चारकर्मी तथा सरोकारवालालाई संयमता अपनाउन र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार