महोत्तरी, साउन १६
महोत्तरीकाे बर्दिबास नगरपालिका–३ कालापानीमा शनिबार भएको सडक आन्दोलन वार्तापछि टुंगिएको छ। स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच भएको छलफलले सकारात्मक मोड लिएपछि बिहानदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको हो ।
कालापानी घटनासँग सम्बन्धित चार जनाविरुद्ध दर्ता गरिएको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए। वार्ताका क्रममा प्रशासनले कानुनी प्रक्रिया र आवश्यक समन्वयमार्फत समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको जनाइएको छ ।
छलफलका लागि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगर तथा इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिना घटनास्थल पुगेका थिए ।
स्थानीयका अनुसार गत जेठ ११ गते वन अतिक्रमण हटाउने विषयलाई लिएर भएको विवादपछि वन कार्यालयका कर्मचारीलाई नियन्त्रणमा राखिएको र सरकारी गाडीमा आगजनी भएको घटनामा प्रहरीले चार जनाविरुद्ध मुद्दा दर्ता गरेपछि पुनः आन्दोलन चर्किएको थियो ।
केही घण्टा सडक अवरुद्ध हुँदा बर्दिबास–काठमाडौं आवतजावत गर्ने सवारीसाधन र यात्रु प्रभावित बनेका थिए। वार्ताबाट सहमति जुटेपछि राजमार्गमा यातायात सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

