विराटनगर, साउन १९ गते ।
विराटनगर: विराटनगरका व्यवसायी गोपाल मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गरी गरिएको खानतलासी प्रकरणमा मोरङका प्रहरी प्रमुख (एसपी) कवित कटवालसँग २४ घण्टे स्पष्टीकरण मागिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी शेखर खनालले घटनाको विस्तृत विवरण, प्रयोग गरिएको प्रहरी बलको औचित्य र कारबाहीको आधारबारे लिखित जवाफ मागिएको जानकारी दिएका छन्। उनका अनुसार कुनै पनि कारबाही अघि प्राप्त सूचनाको सत्यता पुष्टि (भेरिफाइ) गर्न प्रहरीलाई पहिले नै निर्देशन दिइएको थियो ।
डीआईजी खनालले सूचना पुष्टि नगरी ठूलो संख्यामा प्रहरी परिचालन गर्दा व्यवसायी समुदायमा अनावश्यक त्रास फैलिने भन्दै प्रहरीको कार्यशैलीप्रति गम्भीर चासो व्यक्त गरेका छन्। उनले प्रदेश प्रहरीलाई घटनाको सम्पूर्ण विवरण सुरुमै प्राप्त नभएको उल्लेख गर्दै वास्तविक अवस्था स्पष्ट पार्न लिखित प्रतिवेदन मागिएको बताए ।
उनले कुनै ठोस आधार वा गम्भीर अपराधको पुष्टि बिना नै लामो समयसम्म व्यवसायीको घरमा छापामार शैलीमा खानतलासी गर्नुको कारणबारे स्पष्ट जवाफ आवश्यक रहेको बताए ।
डीआईजी खनालका अनुसार यो प्रहरी संगठनको आन्तरिक प्रक्रिया हो। एसपी कटवालको लिखित स्पष्टीकरण प्राप्त भएपछि घटनाको वास्तविकता र प्रहरीको भूमिकाबारे थप निर्णय गरिनेछ।
व्यवसायी मुन्दडाको घरबाट कुनै गैरकानुनी वस्तु फेला नपरेपछि उक्त घटनालाई लिएर मोरङ प्रहरीको कार्यशैलीको व्यापक आलोचना भइरहेको छ ।

