काठमाडौं: नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समिति बैठक मंगलबार (साउन १९) सम्पन्न भएको छ। बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सूचनाको हकको निर्बाध प्रयोग, श्रमजीवी पत्रकारको अधिकारको प्रभावकारी कार्यान्वयन, अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणमा देखिएका समस्याको समाधान तथा सरकारले केही वर्षदेखि स्थगित गरेको ‘ज्येष्ठ पत्रकार वृत्ति’ पुनः सञ्चालन गराउन आवश्यक पहल गर्ने विषयमा गम्भीर छलफल गरेको छ ।

बैठकमा महासंघको आगामी केन्द्रीय साधारणसभाको तयारीबारे समेत समीक्षा गर्दै यी सबै विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना तयार गर्ने, आवश्यकताअनुसार आन्दोलन, वार्ता र नीतिगत लबिङलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसैबीच, २०२६ जुलाई २५ (२०८३ साउन ९) मा नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा सम्पन्न एफएनजे ग्लोबल सम्मेलनको बैठकले उच्च मूल्याङ्कन गरेको छ। सम्मेलन सफलतापूर्वक सम्पन्न गराएकोमा जापान शाखाका अध्यक्ष रबीन्द्र श्रेष्ठ तथा सम्पूर्ण कार्यसमितिलाई हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गरिएको छ ।

महासंघ केन्द्रीय समितिको समन्वयमा सम्पन्न उक्त सम्मेलनमा महासंघकी अध्यक्ष निर्मला शर्मा, उपाध्यक्ष उमिद बागचनसहित पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरू, सातै प्रदेशका अध्यक्ष तथा तीन जिल्ला अध्यक्ष गरी ४१ जनाको सहभागिता रहेको थियो। साथै, महासंघका ११ वटा वैदेशिक शाखा (एफिलिएसन शाखासहित) को सहआयोजना र सहभागिता रहेको सम्मेलनले ९ बुँदे टोकियो घोषणापत्र समेत जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार