गाैशाला, साउन २९ गते ।
भारतको बाबाधाममा बोलबम यात्राका लागि गएका नेपाली तीर्थयात्री सवार बस झारखण्डमा दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ ।
गरुडा नगरपालिका–६ पोठियाहीबाट बोलबम यात्राका लागि गएको ना.६ ख १५५४ नम्बरको बस शुक्रबार बिहान करिब ३ बजे झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको हो ।
दुर्घटनामा गरुडा–६ पोठियाहीका ६० वर्षीय नवलकिशोर जयसवाल, उनकी श्रीमती सुन्दर बाला देवी र १० वर्षीय शिवम महतोको मृत्यु भएको स्थानीयले बताएका छन् ।
प्रारम्भिक विवरणअनुसार बसमा करिब ४५ जना तीर्थयात्री सवार थिए। बासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा बस दुर्घटनामा परेको बताइएको छ ।
ट्रकसँग ठोक्किँदा बसको अगाडिको भागमा ठूलो क्षति पुगेको छ। दुर्घटनापछि सतगावाँ प्रहरीले घटनास्थलमा पुगेर घाइते यात्रुहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सतगावाँ थाना प्रमुख बब्लु सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने आशंका गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबरपछि मृतक तथा घाइतेका आफन्तहरू शुक्रबार बिहानै चारवटा सवारीसाधन रिजर्भ गरेर घटनास्थलतर्फ गएका छन्। दुर्घटनामा मृत्यु तथा घाइते हुने अधिकांश यात्रु पोठियाहीकै रहेको बताइएको छ ।
घटनापछि पोठियाही गाउँ शोकमा डुबेको छ। स्थानीयले मृतक नेपाली नागरिकको शव यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
दुर्घटनामा कति जना घाइते भएका छन् र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन ।

