कास्की, साउन २९ गते ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ। गाउँपालिकाको वडा नम्बर ८ स्थित वीरेठाँटी क्षेत्र बाढी र कटानबाट बढी प्रभावित भएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार मोदी खोलामा आएको बाढीले वीरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडकका विभिन्न खण्ड बगाएको छ। वीरेठाँटी नजिकै करिब १०० मिटर सडकखण्ड मोदी खोलाले कटान गरेपछि उक्त क्षेत्रमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
सडकको जग नै बगाएका कारण पैदल यात्रुका लागि समेत आवतजावत गर्ने बाटो नरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, बाढीले कास्की र पर्वतको सीमामा पर्ने मोदी खोलामा रहेको एउटा पुल र एक मन्दिरसमेत बगाएको छ। खोलाको बहाव बढेपछि सो क्षेत्रमा तीन जना व्यक्ति अड्किएको र उनीहरूको उद्धारका लागि सुरक्षा निकायले पहल गरिरहेको बताइएको छ ।
लगातार वर्षा भइरहेकाले मोदी खोलाको सतह बढ्ने क्रम जारी छ। सडक सञ्जाल विच्छेद हुँदा स्थानीयवासी तथा पर्यटकको आवतजावत प्रभावित बनेको छ ।
सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा नजान तथा जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

