काठमाडौं, साउन ३० गते ।
जेनजी अगुवा रवि किरण हमालले नेपाली सेनाजस्तो राष्ट्रिय संस्थाको गरिमा र योगदानमाथि प्रश्न उठाउने तथा राजनीतिक स्वार्थका आधारमा कमजोर पार्ने प्रयास स्वीकार्य नहुने बताएका छन् ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा शनिबार आयोजित अवकाशप्राप्त सैनिक तथा सुरक्षा अधिकारीहरूको कार्यक्रममा बोल्दै हमालले नेपाली सेनाले मुलुकको एकीकरणदेखि विभिन्न संकटका समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

उनले देशमा संकट, अन्योल र असुरक्षाको अवस्था उत्पन्न हुँदा नेपाली सेनाले शान्ति तथा सुरक्षा कायम गर्न जिम्मेवार भूमिका निर्वाह गरेको दाबी गरे। उनका अनुसार जेनजी आन्दोलनको मूल उद्देश्य सुशासन, जवाफदेहिता र संस्थागत सुधार भए पनि त्यसका नाममा राष्ट्रिय संस्थाको अपमान गर्नु उचित होइन ।

‘व्यक्तिको भूमिकामाथि प्रश्न उठाउन सकिन्छ, संस्थामा सुधारको माग गर्न सकिन्छ, तर देशका लागि योगदान गरेका संस्थालाई नियोजित रूपमा कमजोर बनाउने काम सह्य हुँदैन,’ हमालले भने ।

कार्यक्रममा सहभागी अवकाशप्राप्त सैनिक तथा सुरक्षा अधिकारीहरूले पनि सुरक्षा निकायका प्रमुखहरूमाथि सार्वजनिक तथा संसदीय क्षेत्रमा भएको भनिएको अमर्यादित व्यवहारप्रति असन्तुष्टि जनाएका थिए ।

उनीहरूले राष्ट्रिय सुरक्षा, सार्वभौमिकता, अखण्डता र सामाजिक सद्भाव कायम राख्न राज्यका सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली सेनाको ऐतिहासिक भूमिकासँगै वर्तमान सुरक्षा चुनौती, राष्ट्रिय एकता र सुरक्षा निकायबीचको समन्वयका विषयमा समेत छलफल भएको थियो ।

आयोजकका अनुसार कार्यक्रममा अवकाशप्राप्त सैनिक अधिकारी, सशस्त्र प्रहरीका पूर्व अधिकारी, भारतीय तथा ब्रिटिस गोर्खा सैनिकका अवकाशप्राप्त व्यक्तित्व, प्राध्यापक, नागरिक समाजका प्रतिनिधि तथा जेनजी अभियन्तासहित ३०० भन्दा बढीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार