सिमरा, भदौ ४ गते ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर जारी आन्दोलन ५ बुँदे सहमतिपछि स्थगित भएको छ ।
पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला सुरक्षा समितिबीच पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा भएको लामो वार्तापछि सहमति जुटेको हो ।
सहमति अनुसार पीडित परिवारलाई उचित राहत तथा रोजगारी व्यवस्थापनका लागि स्थानीय तहको सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गरिने भएको छ ।
त्यस्तै, घटनामा पक्राउ परेका संदिग्धमाथि अनुसन्धान जारी राख्दै अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता पुष्टि भएमा उनीहरूमाथि समेत कानुनअनुसार कडा कारबाही गर्ने सहमति भएको छ ।
जिल्लाको सुरक्षा अवस्थाको समीक्षा गरी वर्तमान तथा भविष्यका सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै भरपर्दो सुरक्षा व्यवस्था मिलाउने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिएको छ ।
यसैगरी, इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा लापरबाही गरेको देखिएका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्ने माग पूरा भएपछि आन्दोलनरत पक्ष तत्कालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न सहमत भएको जनाइएको छ ।


