काठमाडौं, भदौ ७ गते ।
राजनीतिक विश्लेषक सिके लालले मधेश आन्दोलनबाट सयौँ शहीदको बलिदानमार्फत प्राप्त उपलब्धि पछिल्लो समय बढ्दै गएको धार्मिक तथा राजनीतिक ध्रुवीकरणका कारण जोखिममा पर्न सक्ने बताएका छन् ।
शनिबार काठमाडौंको आलोकनगरस्थित इम्पेरियल होटलमा आयोजित ‘मधेश : अबको बाटो’ संवाद शृंखलाअन्तर्गत साहित्यकार डा. राजेन्द्र विमलको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले समाजमा बढिरहेको द्वन्द्व, असहिष्णुता र ध्रुवीकरणप्रति चिन्ता व्यक्त गरे ।
सिके लालले डा. विमल आज जीवित भएको भए साहित्यका माध्यमबाट समाजलाई जागरुक बनाउँदै विभाजन र द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
“राजेन्द्र विमल आज जीवित भएको भए फैलिरहेको द्वन्द्वको आगोमा साहित्यको माध्यमबाट पानी हाल्ने काम गर्नुहुन्थ्यो,” उनले भने ।
कार्यक्रममा सहभागी साहित्यकार तथा वक्ताहरूले डा. विमलले मैथिली साहित्य, भाषा र मधेसी चेतनाको विकासमा पुर्याएको योगदानको स्मरण गर्दै उनका अप्रकाशित रचनाहरू संरक्षण गरी प्रकाशनमा ल्याउनुपर्नेमा जोड दिए ।
साहित्यकार धिरेन्द्र परमार्शीले डा. विमलका महत्वपूर्ण लेख तथा रचनाहरू अझै प्रकाशन हुन बाँकी रहेको जानकारी दिँदै ती सामग्री प्रकाशनका लागि पहल आवश्यक रहेको बताए ।
गोरखापत्रका पूर्वसम्पादक तथा पूर्वमहाप्रबन्धक सीताराम अग्रहरीले डा. विमललाई मैथिली भाषाका सशक्त स्रष्टाका रूपमा स्मरण गर्दै उनको साहित्यिक योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने धारणा राखे। उनले डा. विमलको योगदानलाई रवीन्द्रनाथ टैगोरसँग तुलना गर्न सकिने बताए ।
पूर्वसंविधानसभा सदस्य विमल केडियाले डा. राजेन्द्र विमलको योगदानको सम्मानस्वरूप उनको नाममा हुलाक टिकट प्रकाशन गर्न सरकारसँग पहल गर्नुपर्ने माग गरे ।
शहीद संजय चौधरी प्रतिष्ठानद्वारा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानकी रूपा झा, साहित्यकार कृष्णराज सर्वहारी, मधेशी आयोगका पूर्वअध्यक्ष विजय दत्त, पूर्वप्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, पूर्वप्रहरी निरीक्षक रामेश्वर यादव, अधिवक्ता राजेन्द्र साह, आनन्द गुप्तालगायत साहित्यकार, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता शहीद संजय चौधरीकी बहिनी तथा प्रतिष्ठानकी अध्यक्ष ममता चौधरीले गरेकी थिइन् ।

