काठमाडौं: रक्षाबन्धनको अवसरमा प्रधानमन्त्रीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि प्रार्थना गर्दै विपद्बाट प्रभावित नागरिकलाई राज्यले साथ नछाड्ने बताएका छन् ।

उनले उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता व्यक्त गर्दै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम तीव्र रूपमा भइरहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका अनुसार रसुवा, भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ भने नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टरबाट हवाई उद्धार जारी छ ।

उद्धारसँगै प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री पुर्‍याउने काम पनि भइरहेको छ। हालसम्म ३२ ट्रक सामग्री पठाइएको तथा हेलिकप्टरबाट समेत राहत सामग्री ढुवानी गरिएको जनाइएको छ।
सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ। Upper Trishuli Hydropower Project, रसुवागढी जलविद्युत् केन्द्रलगायत जोखिमयुक्त सुरुङमा विशेष उपकरणसहित खोज तथा उद्धार जारी रहेको छ ।

बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवाबाट नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मको त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको छ ।

सरकारले विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानमा पनि विशेष समन्वय गरिरहेको जनाएको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको बताइएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वयका लागि Emergency Control Room सञ्चालन गरेको छ ।

विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको स्पष्ट पार्दै भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको सरकारले जनाएको छ ।

भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमलाई निगरानीमा राखिएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै २ लाखभन्दा बढी SMS Alert मार्फत पूर्वसूचना दिइएको छ ।

यसैबीच सडक सम्पर्क पुनःस्थापनाको काम पनि तीव्र पारिएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याएर साना चारपाङ्ग्रे सवारीसाधन चल्न थालेका छन्। काठमाडौं–मुग्लिङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।

रसुवालाई समेत वैकल्पिक सडकमार्फत पुनःसडक सञ्जालमा जोडिएको छ। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको सडक साना चारपाङ्ग्रे सवारीका लागि सुचारु भएको जनाइएको छ। क्षतिग्रस्त पुलमा बाइपास निर्माण सुरु गरिएको छ भने नियमित सडक सम्पर्कका लागि भारत र चीनबाट ४८ मिटर लम्बाइका १० वटा Bailey Bridge उपलब्ध गराउन पहल गरिएको छ ।

खानेपानी, इन्धन र सरसफाइको व्यवस्था मिलाइएको छ। नुवाकोटमा KUKL का चार वटा वाटर ट्याङ्कर परिचालन गरिएका छन् भने सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर प्रभावित क्षेत्रमा पठाइएको छ ।

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। ६ वटा अस्पताललाई standby अवस्थामा राखिएको छ भने वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ ।

दूरसञ्चारतर्फ प्रभावित १९८ टावर/साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। विद्युत् सेवातर्फ नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको जनाइएको छ।
प्रभावित क्षेत्रको सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनाको क्षति मूल्यांकनका लागि १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ ।

राहत तथा पुनःस्थापनाका लागि प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको बताइएको छ ।

प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ। साथै, प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित Business Recovery Package तयार गर्ने काम अघि बढाइएको छ ।

यसैबीच नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा प्रधानमन्त्रीले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन योगदान पुर्‍याएको भन्दै उनलाई धन्यवादसमेत दिइएको छ ।

प्रधानमन्त्रीले सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित रहेको बताउँदै मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र सोहीअनुसार स्रोतसाधन परिचालन गर्ने काम निरन्तर भइरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार