काठमाडौं: बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न चीनबाट उद्धार विशेषज्ञसहितको टोली नेपाल आइपुगेको छ ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाका दुईवटा वाई–२० विमान आइतबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। विमानमा करिब ५० टन आपतकालीन राहत सामग्री तथा उद्धारका लागि आवश्यक उपकरण ल्याइएको छ ।
चिनियाँ दूतावासका अनुसार टोलीमा चार जना सुरुङ उद्धार विशेषज्ञ समेत रहेका छन्। चीनको छेन्दुस्थित शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुवै विमानले राहत सामग्री र प्राविधिक टोली नेपाल ल्याएका हुन् ।
नेपाल ल्याइएका सामग्रीमा पाल, कम्बल, सुत्ने झोला, ड्राइ बिस्कुट र प्राथमिक उपचारका सामग्री लगायत १३ हजार २०० थान सामग्री छन् ।
विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण तथा स्वागत कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र सांसद धर्म केसी सहभागी भएका थिए ।
चिनियाँ उद्धार टोलीले विशेषगरी विपद्का क्रममा सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारमा आवश्यक प्राविधिक सहयोग गर्ने बताइएको छ। विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चिनियाँ टोलीको प्राविधिक सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

