गाैशाला: भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको करिब २ करोड ४० लाख रुपैयाँ मूल्य बराबरको एप्पल कम्पनीका १ हजार २ सय थान एयरपड्स महोत्तरीमा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भाद्र २० गते बिहान सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त सामान बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर तथा बोर्डर आउट पोष्ट खैरवनीबाट खटिएको टोलीले भारतबाट ल्याउँदै गरेको अवस्थामा एयरपड्स नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीको गस्ती टोलीलाई देखेपछि एयरपड्स बोकेर आएका व्यक्ति सामान छाडेर फरार भएका थिए । बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

