काठमाडौँ: नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको विवाद समाधान गर्दै १५औँ महाधिवेशन सुनिश्चित गर्न पाँचबुँदे विशेष प्रस्ताव अघि सारेका छन् ।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा केसीले पुरानो र नयाँ कार्यसम्पादन समिति समायोजन गरी पार्टीभित्र एकता कायम गर्ने तथा महाधिवेशन कात्तिकमै सम्पन्न गर्ने प्रस्ताव राखेका हुन् ।

केसीले १५औँ महाधिवेशन आगामी कात्तिक १७ देखि १९ गतेसम्म सम्पन्न गर्नुपर्ने भन्दै आफ्नो प्रस्तावमाथि गम्भीर छलफल र सहमति आवश्यक रहेको बताएका छन् ।

उनका पाँच प्रस्ताव यस्ता छन् :
कार्यसम्पादन समिति एकीकरण: विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो र हालको कार्यसम्पादन समिति सभापतिको नेतृत्वमा समायोजन गर्ने ।

केन्द्रीय समिति विस्तार: विधानका सम्बन्धित प्रावधान निलम्बन गरी आवश्यकताअनुसार केन्द्रीय कार्यसमितिको आकार बढाउने।
महाधिवेशनको अधिकार प्रत्यायोजन: निष्पक्ष महाधिवेशन सम्पन्न गर्ने सम्पूर्ण अधिकार कार्यसम्पादन समितिलाई दिने ।

महाधिवेशनसम्बन्धी समितिको पुनर्गठन: निर्वाचन, क्रियाशील सदस्यता छानबिन र अनुशासन समितिलाई आवश्यकताअनुसार पुनर्गठन तथा विस्तार गर्ने ।

कात्तिक १७–१९ मै महाधिवेशन: १५औँ महाधिवेशनको अन्तिम मिति कात्तिक १७ देखि १९ गते तोकेर कुनै बहानामा मिति नसार्ने प्रतिबद्धता जनाउने ।

केसीले पार्टीभित्रको विवाद लम्बिँदा महाधिवेशनसमेत प्रभावित हुन सक्ने भन्दै सहमति र एकताका आधारमा तत्काल निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार