काठमाडौं: भदौ १० गते रसुवामा आएको भीषण बाढीका बेला बीवाईडीसँग सम्बन्धित चालक तथा कर्मचारीको टोली ठूलो जोखिमबाट संयोगवश जोगिएको छ ।

बीवाईडीका चालक दिनानाथ आचार्यका अनुसार उनी करिब ५–६ जना सहकर्मीसहित गाडी लिन रसुवागढीतर्फ जाँदै थिए। धुन्चे पुगेपछि खोलामा अस्वाभाविक रूपमा पानीको बहाव बढेको देखिएपछि टोलीले तत्काल यात्रा रोकेर सुरक्षित स्थानतर्फ फर्किने निर्णय गरेको थियो। ।

आचार्यका अनुसार त्यसपछि उनीहरू वेत्रावती पुगेका थिए। त्यहाँसम्म आइपुग्दा बाढीले ठूलो क्षति पुर्‍याइसकेको थियो। सडक तथा यातायात अवरुद्ध भएपछि टोलीले प्रभावितलाई पानी, चकलेट र बिस्कुट वितरण गर्दै सहयोग गरेको थियो।
बाढी आएको दुई दिनपछि उद्धारको जिम्मेवारीसमेत पाएको टोलीले रसुवागढी क्षेत्रबाट २–३ जनाको उद्धार गरेको आचार्यले बताए ।

स्कुल बस रोकिँदा टर्‍यो ठूलो दुर्घटना
आचार्यका अनुसार धुन्चेबाट बाढी केही कम भएको अनुमान गर्दै उनका ९ जना साथीहरू बसमार्फत वेत्रावतीतर्फ फर्किएका थिए। तर, बाटोमा अचानक एउटा स्कुल बस रोकियो। त्यसपछि उनीहरू चढेको बस पनि रोक्नुपर्‍यो ।

त्यही बेला बाढीको ठूलो छाल सडकतर्फ आएको थियो। बस रोकिएकै कारण उनीहरू अघि बढ्न पाएनन् र बाढीको छालबाट जोगिन सफल भएको आचार्यले बताए ।

१६५ मध्ये १०६ बीवाईडी गाडी नेपाल ल्याइयो
बाढीका कारण रसुवागढीमा रहेका नयाँ बीवाईडी गाडीको आपूर्तिमा समेत असर परेको छ। आचार्यका अनुसार भन्सार प्रक्रिया पूरा भएका १६५ गाडीमध्ये १०६ वटा नेपालतर्फ ल्याइएको थियो भने बाँकी गाडी बाढी प्रभावित क्षेत्रमा नै रोकिएका छन् ।

उनका अनुसार नेपालतर्फ कार्यरत बीवाईडीसँग सम्बन्धित सबै व्यक्ति सुरक्षित छन्। तर, चीनतर्फ कार्यरत नेपाली तथा अन्य गरी करिब २० जना सम्पर्कविहीन रहेको जानकारी आफूहरूले पाएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार