धनगढी: अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बाजुराको जनजीवन प्रभावित भएको छ। जिल्लाका विभिन्न स्थानमा घर तथा गोठमा क्षति पुग्नुका साथै यातायात र विद्युत् सेवा अवरुद्ध भएको छ ।

गौमुल र बडीमालिका क्षेत्रमा पहिरोले घर तथा गोठमा क्षति पुर्‍याएको छ। पहिरोको जोखिममा रहेका विरेखोलाका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

साफे–मार्तडी सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको छ। सडक विभागले डोजर परिचालन गरी सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

यस्तै, पहिरोका कारण विद्युत्का पोल ढलेपछि मार्तडीसहित आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। प्रशासनले उद्धार, सडक खुलाउने तथा विद्युत् मर्मतका लागि कमाण्ड पोस्टमार्फत काम अघि बढाएको जनाएको छ ।

वर्षा रोकिए पनि थप पहिरोको जोखिम कायमै रहेकाले प्रशासनले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार