काठमाडौं: रामेछापमा वृद्ध दम्पतीलाई हातखुट्टा बाँधेर तथा मुखमा टेप लगाई गरगहना र नगद लुटपाट गर्ने पाँच जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १८ गते राति रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलस्थित ८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छीमाया तामाङ आफ्नै घरमा सुतिरहेका बेला नकाबधारी तीन जनाको समूहले ढोका फुटाएर घरभित्र प्रवेश गरेको थियो ।

उनीहरूले वृद्ध दम्पतीको हातखुट्टा बाँध्नुका साथै मुखमा टेप लगाएर घरमा रहेका नगद तथा गरगहना लुटेर फरार भएका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले चोरीका सामान तथा डकैतीमा प्रयोग भएका सवारीसाधनसहित भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछाप खाँडादेवी–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही स्थानका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक–७ का ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाको बेलाहारा–५ का ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मा रहेका छन् ।

प्रहरीका अनुसार सुमन काठमाडौंस्थित निजी विद्यालयका सवारी चालक हुन्। उनको साथबाट २५ हजार रुपैयाँ नगद, रेडमी मोबाइल र बा७३प ८७१२ नम्बरको २२० सीसी मोटरसाइकल बरामद भएको छ ।

दीर्घराज बसका सहचालकका रूपमा काम गर्ने गरेको पाइएको छ। उनीबाट ५२ हजार २ सय रुपैयाँ नगद, नागरिकता, राहदानी, एनएमबी बैंकको चेक, ग्लोबल आइएमई बैंकको राजस्व तिरेको बिल तथा घटनामा प्रयोग भएको ज्याकेट र हाफ कट्टु बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पशुपति श्रेष्ठ काठमाडौंमा मोटरसाइकल इनड्राइभ चालकका रूपमा काम गर्ने गरेको खुलेको छ। उनीबाट मोटरसाइकल, ६ हजार ४ सय ६० रुपैयाँ नगद, मोबाइल, बैंक खातामा रहेको रकमको विवरण, सहकारीको बचत पुस्तिका, नागरिकता, बुद्धचित्तका दाना, पुराना सिक्का तथा सुनजस्तो पहेँलो धातुको औँठीलगायत सामग्री बरामद भएको छ ।

पिताम्बर गहतराज भक्तपुरमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएको र उनको साथबाट मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। गुणराज विश्वकर्माबाट भने सुनजस्तो पहेँलो धातुको दुई थान रिङ बरामद भएको छ ।

प्रहरीको अनुसन्धानबाट पशुपति श्रेष्ठको समूहले खाँडादेवी गाउँपालिका–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेकोसमेत खुलेको छ ।

यसैगरी, असार १ गते खाँडादेवी–३ की सुन्दरी श्रेष्ठको करिब २८ किलो ३०० ग्रामको खसी तथा भदौ ७ गते सोही वडाका रामबहादुर श्रेष्ठको गोठबाट करिब १५ किलोको बोका चोरी भएको घटनामा पनि यही समूहको संलग्नता रहेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार