गाैशाला: राष्ट्रिय वाणिज्य बैंकको बलवा शाखामा सेवाग्राहीको खाताबाट ५ लाख ४९ हजार रुपैयाँ अनधिकृत रूपमा निकासा भएको घटनाले बैंकको सुरक्षा संयन्त्र र आन्तरिक नियन्त्रण प्रणालीमाथि प्रश्न उठाएको छ ।
बलवा नगरपालिका–६ का रोशनकुमार महतोको खाताबाट सोमबार पहिलोपटक २ लाख रुपैयाँ निकालिएको थियो। मोबाइल बैंकिङमार्फत खाताबाट रकम निकासा भएको थाहा पाएल गत्तै महतोले बैंक शाखामा सम्पर्क गरी घटनाबारे जानकारी गराउँदै खाता रोक्का गर्न आग्रह गरेका थिए ।
पीडितका आफन्त सन्तोषकुमार महतोका अनुसार बैंकले पहिलोपटक २ लाख रुपैयाँ निकासा भइसकेको जानकारी दिँदै अब थप रकम निकाल्न नदिने आश्वासन दिएको थियो। तर, बैंकलाई जानकारी गराइसकेपछि पनि खातामा रहेको थप ३ लाख ४९ हजार रुपैयाँ निकासा भएको पीडित पक्षको दाबी छ ।
दुईपटक गरी खाताबाट ५ लाख ४९ हजार रुपैयाँ बाहिरिएपछि पीडित पक्षले रकम फिर्ता, घटनाको निष्पक्ष छानबिन तथा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको माग गरेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीलगायत सम्बन्धित निकायमा उजुरीसमेत दिइएको जनाइएको छ ।
पहिलोपटक अनधिकृत रूपमा रकम निकालिएको जानकारी बैंकलाई समयमै दिइसकिएको अवस्थामा समेत बाँकी रकम कसरी निकासा भयो भन्ने विषय घटनाको प्रमुख प्रश्न बनेको छ। खाता तत्काल रोक्का गरिएको थियो कि थिएन, थप कारोबार रोक्न बैंकको प्रणालीले के भूमिका खेल्यो र दोस्रोपटक रकम कुन माध्यमबाट निकालियो भन्ने विषय अनुसन्धानपछि स्पष्ट हुने देखिन्छ ।
बलवा शाखाको यो घटनासँगै राष्ट्रिय वाणिज्य बैंकको जलेश्वर शाखामा केही महिनाअघि देखिएको ६० लाख रुपैयाँको विवादास्पद कर्जा प्रकरण पनि पुनः चर्चामा आएको छ। जलेश्वर शाखाबाट लोहारपट्टी नगरपालिका–४ का श्रीनारायण साहको नाममा फर्जी लालपुर्जा, रोक्का तथा लिखतका आधारमा कर्जा प्रवाह भएको आरोप लागेको थियो ।
उक्त कर्जाका लागि प्रयोग गरिएको भनिएको जग्गाको वास्तविक बजार मूल्य १६ लाख ५० हजार रुपैयाँ मात्रै रहेको विवरण सार्वजनिक भएपछि प्रकरण थप विवादित बनेको थियो। सरकारी कार्यालयका छाप र कर्मचारीका हस्ताक्षरसमेत किर्ते गरिएको आरोपपछि सम्बन्धित सरकारी निकायले समेत चासो देखाएका थिए ।
प्रकरणपछि बैंकको केन्द्रीय कार्यालयले आन्तरिक छानबिन अघि बढाउँदै सम्बन्धित पाँच कर्मचारीलाई विभिन्न शाखामा सरुवा गरेको जनाइएको थियो ।
जलेश्वरमा कर्जा प्रवाहका क्रममा कागजात र धितो प्रमाणीकरणमा प्रश्न उठेको थियो भने बलवामा सेवाग्राहीले अनधिकृत कारोबारबारे समयमै जानकारी गराउँदा पनि बाँकी रकम सुरक्षित हुन नसकेको आरोप छ ।
फरक प्रकृतिका यी घटनाले राष्ट्रिय वाणिज्य बैंकका महोत्तरीस्थित शाखाहरूको जोखिम नियन्त्रण, अनुगमन र आन्तरिक सुरक्षा प्रणालीको प्रभावकारिता माथि गम्भीर प्रश्न खडा गरेका छन् ।

