गौशाला, भदौ २६ गते ।
महोत्तरीको गौशाला नगरपालिका–११ स्थित श्री नेपाल राष्ट्रिय जनता (०–८) आधारभूत विद्यालय, बहादुरगञ्ज–७ अन्तर्गतको कलश बाल क्लबको आयोजना तथा गौशाला नगरपालिका–१२ स्थित मधेश कृषि उद्योग प्रा.लि.को सहयोगमा नगरस्तरीय (०–८) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा नगर क्षेत्रका ६ वटा आधारभूत विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, कालिपुरले प्रथम स्थान हासिल गरेको छ भने श्री नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालय, बहादुरगञ्ज द्वितीय र श्री राष्ट्रिय आधारभूत विद्यालय, कनकपुर विषहरपुर तृतीय भएका छन् ।
प्रतियोगितामा श्री मुनिमिश्रि आधारभूत विद्यालय, प्रडिया, श्री राष्ट्रिय आधारभूत विद्यालय, बान्हटोल रामनगर र श्री राष्ट्रिय आधारभूत विद्यालय, जमुनियाको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई आफ्नो भविष्य निर्माणका लागि अनुशासित भएर अध्ययनमा लाग्न आग्रह गरे ।
उहाँले विद्यार्थी जीवनमा अनुशासनको महत्वपूर्ण भूमिका हुने भन्दै अनुशासित भएर पढाइमा नलागेसम्म जीवनमा अपेक्षित प्रगति हासिल गर्न कठिन हुने बताए । अध्ययनसँगै यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी हुँदा विद्यार्थीको ज्ञान र क्षमता अभिवृद्धि हुने उहाँको भनाइ थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा सामान्य ज्ञान, प्रतिस्पर्धात्मक भावना तथा आत्मविश्वास विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।







