सल्यान: सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका थिए ।
घाइतेमध्ये दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो। उपचारका क्रममा बिहान १०ः२२ बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेकी करिब १८ वर्षीया विपना बुढाथोकी रहेका छन् ।
दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–५ सिंखका २४ वर्षीय भुपाल पुन, सोही स्थानका २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली तथा त्रिवेणी गाउँपालिका–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी घाइते भएका छन् ।
घाइते चारै जनाको त्रिवेणी हेल्थ केयर लुहाम, सल्यानमा सामान्य उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

