गाैशाला: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ राष्ट्रिय महाधिवेशन महोत्तरीको बर्दिवासमा आयोजना हुने भएको छ। प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज २२, २३ र २४ गते तीन दिनसम्म महाधिवेशन बर्दिवासमा सञ्चालन हुने भएको हो ।
प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितको कार्यसमितिले महाधिवेशन बर्दिवासमा आयोजना गर्ने निर्णय गरेसँगै स्थानीयस्तरमा यसको तयारी र चर्चासमेत सुरु भएको छ ।
राष्ट्रियस्तरको सांगीतिक संस्थाको महत्वपूर्ण कार्यक्रम बर्दिवासमा आयोजना गर्ने निर्णयप्रति स्थानीयले प्रतिष्ठानको नेतृत्व तथा कार्यसमितिलाई धन्यवाद व्यक्त गरेका छन् ।
महाधिवेशनमा देशभरबाट करिब १ हजार ५ सयदेखि १ हजार ८ सयसम्म प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने अपेक्षा गरिएको छ। त्यस्तै, नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा स्थापित तथा चर्चित कलाकारहरूको समेत उल्लेख्य सहभागिता रहने आयोजक पक्षले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनलाई प्रतिष्ठानको सांगठनिक गतिविधिमा मात्र सीमित नभई बर्दिवासको सांगीतिक तथा सांस्कृतिक गतिविधिलाई समेत चलायमान बनाउने अवसरका रूपमा हेरिएको छ। ठूलो संख्यामा प्रतिनिधि, पर्यवेक्षक र कलाकारहरूको आगमनले स्थानीय होटल, यातायात, व्यापार तथा अन्य व्यवसायमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
महाधिवेशनका कारण बर्दिवासमा देशका विभिन्न क्षेत्रबाट कलाकार तथा प्रतिनिधिहरूको जमघट हुने भएकाले यसले स्थानीय सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउनसमेत सहयोग पुग्ने स्थानीयको विश्वास छ। बर्दिवासलाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप प्रचार गर्न यस्तो राष्ट्रियस्तरको कार्यक्रम महत्वपूर्ण अवसर बन्न सक्ने बताइएको छ ।
महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय समुदाय, व्यवसायी, संघसंस्था तथा सरोकारवालाहरूको सक्रिय सहभागिता आवश्यक रहेको स्थानीयले बताएका छन् ।
कार्यक्रमलाई बर्दिवासवासीको साझा उत्सवका रूपमा लिएर सबै पक्षले अपनत्वका साथ सहयोग गर्नुपर्नेमा समेत जोड दिइएको छ।
‘बर्दिवासको गौरव, हाम्रो साझा जिम्मेवारी’ भन्ने भावनाका साथ महाधिवेशनलाई सफल बनाउन स्थानीयस्तरबाट आवश्यक सहयोग र सहकार्य गर्ने वातावरण निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

