गाैशाला: महोत्तरीसहित देशैभर आज असोज १ गते भगवान् विश्वकर्माको पूजा आराधना गरिँदैछ। उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानमा मेसिन, औजार, उपकरण र सवारीसाधनको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइँदैछ ।
विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि उद्योग तथा व्यवसाय सञ्चालन हुने स्थानमा मेसिनरी सामान र औजारको सरसफाइ गरी फूलमाला, अक्षता तथा विभिन्न पूजाका सामग्रीले सजाएर पूजा गर्ने क्रम चलिरहेको छ। सवारीसाधन धनीहरूले समेत आफ्ना मोटरसाइकल, कार, बस, ट्रक तथा अन्य सवारीसाधनको पूजा गरिरहेका छन् ।
महोत्तरीका विभिन्न बजार तथा ग्रामीण क्षेत्रमा रहेका ग्यारेज, वर्कसप, उद्योग र व्यापारिक प्रतिष्ठानमा पनि विश्वकर्मा पूजाको चहलपहल देखिएको छ। नयाँ सवारीसाधन खरिद गरेका तथा पुराना सवारीसाधन प्रयोग गर्दै आएका व्यक्तिहरूले समेत विश्वकर्माको पूजा गरी सवारीसाधन सुरक्षित र निर्विघ्न सञ्चालन होस् भन्ने कामना गर्ने गरेका छन् ।
धार्मिक मान्यताअनुसार असोज १ गते भगवान् विश्वकर्माको जन्म भएको विश्वास गरिन्छ। त्यसैले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ। भगवान् विश्वकर्मालाई देवशिल्पी तथा वास्तुकारका रूपमा पुज्ने धार्मिक परम्परा रहेको छ ।
पौराणिक कथनमा स्वर्गलोक, लंका, द्वारिका तथा देवताका विभिन्न अस्त्र–शस्त्र निर्माणसँग भगवान् विश्वकर्माको नाम जोडिएको पाइन्छ। विश्वकर्माको पूजा गर्दा सीप, दक्षता, कार्यकुशलता र समृद्धि प्राप्त हुने तथा काममा आउने बाधा–अड्चन हट्ने धार्मिक विश्वास छ ।
यही विश्वासका आधारमा उद्योगी, व्यवसायी, मजदुर, शिल्पकार, प्राविधिक तथा सवारीसाधन धनीहरूले हरेक वर्ष असोज १ गते आफ्ना कामसँग प्रत्यक्ष जोडिएका मेसिन, औजार, उपकरण र सवारीसाधनको पूजा गर्दै विश्वकर्मा जयन्ती मनाउँदै आएका छन् ।

