माेरङ, असोज १ गते ।
किराँत राई पत्रकार संघ मोरङको चौथो जिल्ला अधिवेशनबाट विजय खम्बू पुनः अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ। मोरङको पथरी शनिश्चरेमा सम्पन्न अधिवेशनले खम्बूको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न अधिवेशनले कार्यसमितिमा एक जना पुरुष र एक जना महिला गरी दुई उपाध्यक्ष रहने व्यवस्था गरेको छ। उपाध्यक्षमा संगीता राई र नुतन राई चयन हुनुभएको छ भने सचिवमा रीता राई चयन हुनुभएको छ ।
अधिवेशनमा किराँत राई पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय उप–महासचिव अर्जुन जम्नेली राई, केन्द्रीय उपाध्यक्ष गीता राई, प्रदेश उपाध्यक्ष अर्जुन राई, किराँत राई यायोक्खा मोरङका उपाध्यक्ष काशिहाङ राई, नेपाल पत्रकार महासंघ मोरङका पूर्व कार्यवाहक अध्यक्ष मोहनकुमार भट्टराई, पथरी शनिश्चरेका समाजसेवी बाबुराम राईलगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा मोरङमा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
अधिवेशनले राई समुदायसँग सम्बन्धित विषयवस्तु, भाषा, संस्कृति, इतिहास तथा सामाजिक मुद्दालाई सञ्चार माध्यम मार्फत थप प्रभावकारी रूपमा उठान गर्ने विषयमा जोड दिएको छ । समुदायका महत्वपूर्ण सवाललाई पत्रकारिता मार्फत सार्वजनिक बहसमा ल्याउँदै भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।
अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई किराँत राई पत्रकार संघकी केन्द्रीय उपाध्यक्ष रीता राईले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खम्बूसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। साथै, आगामी दिनमा संघको संस्थागत विकाससँगै राई समुदायका विषयलाई पत्रकारितामार्फत थप प्राथमिकताका साथ उठान गर्ने अपेक्षा व्यक्त गरिएको थियो ।

