गाैशादला: नेपालको संविधान जारी भएको दिनको सम्झनामा आज असोज ३ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदैछ ।
नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण दिनका रूपमा लिइने असोज ३ गते २०७२ सालमा संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो। लामो राजनीतिक संघर्ष, जनआन्दोलन तथा विभिन्न चरणका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधानसभाले संविधान निर्माण गरेको थियो ।
दोस्रो संविधानसभा निर्वाचनपछि गठित संविधानसभामा लामो समयसम्म चलेको छलफल, बहस र विवादपछि संविधान निर्माणको प्रक्रिया टुंगिएको थियो। २०७२ साल असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो ।
संविधान जारी भएको दिनलाई सरकारले हरेक वर्ष संविधान दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा देशका विभिन्न स्थानमा प्रभातफेरी, अन्तरक्रिया, दीप प्रज्वलन, सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदानलगायतका कार्यक्रम आयोजना गरिन्छन् ।
संविधान दिवसका अवसरमा सरकारले काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्दै आएको छ। दिवसले संविधानले सुनिश्चित गरेका मौलिक हक, लोकतान्त्रिक मूल्य, समावेशिता, संघीयता तथा कानुनी शासनप्रतिको प्रतिबद्धता स्मरण गराउने अवसरका रूपमा समेत लिइन्छ ।

