मोरङ, असोज २ गते ।

रसुवामा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले मोरङको जहदाका युवाहरूले २०० बोरा राहत सामग्री संकलन गरी पठाएका छन्।

जहदा गाउँपालिका–५ स्थित लक्ष्मिनिया चोकबाट शुक्रबार साँझ ७ बजे राहत सामग्री रसुवातर्फ पठाइएको हो। स्थानीयवासी तथा युवाहरूले विभिन्न स्थानबाट स्वेच्छिक रूपमा संकलन गरेका खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीलाई एकत्रित गरी राहतका रूपमा पठाइएको आयोजकले जनाएको छ।

संकलित सामग्रीलाई छुट्टाछुट्टै बोरामा प्याक गरिएको छ। प्रत्येक बोरामा करिब २५ किलो सामग्री राखिएको छ। राहतका बोरामा चामल, दाल, नुन, चिउरा, भुजा, आलु र खाने तेललगायत खाद्यान्न समावेश गरिएको छ।

त्यसैगरी बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै चाउचाउ, साबुन, स्याम्पु, सेनेटरी प्याड तथा बालबालिकाका कपडासमेत राहत सामग्रीमा समावेश गरिएको छ।

राहत संकलन अभियानमा जहदाका स्थानीयवासीले आफ्नो क्षमताअनुसार सहयोग गरेका थिए। सामग्री संकलनदेखि प्याकिङ तथा व्यवस्थापनसम्मको काममा स्थानीय युवाहरू सक्रिय रूपमा सहभागी भएका थिए।

विपद्का कारण समस्यामा परेका परिवारलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकको भनाइ छ। जहदाबाट पठाइएको राहत सामग्री रसुवागढी क्षेत्रका बाढी प्रभावित परिवारसम्म पुर्‍याउने तयारी गरिएको छ।

विपद्को समयमा स्थानीयस्तरबाट ठूलो परिमाणमा राहत सामग्री संकलन गरी प्रभावित क्षेत्रतर्फ पठाइनुलाई जहदाका स्थानीयवासीले मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र एकताको उदाहरणका रूपमा लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार