काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले यातायात क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्न चालकको मनोसामाजिक अवस्था, कार्यपरिस्थिति र समग्र यातायात व्यवस्थाबारे अध्ययन गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै धितालले त्रिपुरेश्वरमा चालक अर्जुन दोङको मृत्यु भएको घटनाले यातायात क्षेत्रको सुरक्षा व्यवस्था तथा ट्राफिक नियमन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताइन् ।

उनले चालकहरूलाई लामो समयसम्म निरन्तर काममा खटाउँदा उनीहरूमा मानसिक तथा शारीरिक तनाव बढ्न सक्ने भएकाले चालकको स्वास्थ्य र सुरक्षालाई पनि यातायात व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्नेमा जोड दिइन् ।

धितालले यातायात क्षेत्रमा हुने हरेक घटनाको जिम्मेवारी चालकलाई मात्रै दिएर समस्या समाधान नहुने बताइन्। चालकको कार्यघण्टा, काम गर्ने वातावरण, मानसिक तनाव तथा सामाजिक र आर्थिक अवस्थासमेत दुर्घटना तथा यातायात सुरक्षासँग जोडिने भएकाले त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
उनले भनिन्, ‘खाली चालकलाई मात्रै दोष थोपारेर समस्या समाधान हुँदैन।’

धितालले चालकको मनोसामाजिक अवस्था, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया, यातायात व्यवसायीको नियमन तथा यातायात मजदुरको सामाजिक सुरक्षाको अवस्थाबारे सरकारले समग्र अध्ययन गर्नुपर्ने माग गरिन् ।

यातायात क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन चालकदेखि व्यवसायी, नियामक निकाय तथा ट्राफिक व्यवस्थापन प्रणालीसम्मका पक्षको अध्ययन गरी आवश्यक सुधारका कदम अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार