काठमाडौं, असोज ६ गते ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलियाले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउलाई लिएर सरकारप्रति प्रश्न उठाएकी छन्। उनले सरकार आलोचना र फरक विचारप्रति सहिष्णु हुनुपर्ने बताउँदै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न नहुने धारणा राखिन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थपलियाले दाहालको पक्राउको सन्दर्भ उठाउँदै भनिन्, ‘हतकडीले हात बाँध्न सक्नुहोला, विचार बाँध्न सक्नुहुन्न।’ उनले सरकारसँग आलोचना सुन्ने र असहमति सहन सक्ने क्षमता हुनुपर्नेमा जोड दिइन् ।
उनले पछिल्लो समय मुलुकमा बढ्दै गएको निराशा, अभिव्यक्ति स्वतन्त्रतामाथि देखिएको संकुचन तथा कमजोर पूर्वाधार व्यवस्थापनप्रति सरकारको ध्यानाकर्षण गराइन्। नागरिकका असन्तुष्टि र प्रश्नलाई दबाउनेभन्दा सरकारले त्यसका कारण पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
सम्बोधनका क्रममा उनले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै भनिन्, ‘समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन।’
सांसद थपलियाले काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि चालकले आत्मदाह गरेको घटनादेखि धादिङमा सडक सम्पर्क विच्छेद भएको विषयसम्म सरकारको भूमिकामाथि प्रश्न उठाइन्। यस्ता घटनामा राज्य संयन्त्रको प्रभावकारिता र सरकारको जवाफदेहिताबारे गम्भीर समीक्षा आवश्यक रहेको उनले बताइन् ।
सय दिनभित्र फरक ढंगले काम गर्ने दाबी गरेको सरकारले कार्यकालको आधा वर्ष बितिसक्दा पनि नागरिकको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको उनले जिकिर गरिन्। सरकारका घोषणा र नागरिकले अनुभूति गर्ने वास्तविक परिवर्तनबीच अझै दूरी रहेको भन्दै उनले त्यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरिन्।

