काठमाडौं, असाेज ९ गते ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सगरमाथाको काखबाट विश्वलाई दिएको जलवायु सङ्कटसम्बन्धी चेतावनी अहिले नेपालमा देखिएका बाढी, हिमपहिरो र हिमताल सम्बन्धी जोखिमबीच पुनः विश्वमञ्चमा प्रतिध्वनित भएको छ ।
सन् २०२३ अक्टोबर ३० मा सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुगेका गुटेरेसले तीव्र गतिमा पग्लिरहेका हिमनदी र बढ्दो जलवायु सङ्कटप्रति विश्वको ध्यानाकर्षण गराउँदै ‘विश्वको छाना खसिरहेको छ’ भन्ने सन्देश दिएका थिए ।
त्यतिबेला उनले नेपालले तीन दशकको अवधिमा करिब एकतिहाइ बरफ गुमाइसकेको र पछिल्लो दशकमा हिमनदी पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको उल्लेख गरेका थिए। हिमालयका हिमनदीले एक अर्बभन्दा बढी मानिसलाई ताजा पानी उपलब्ध गराउने भएकाले यसको क्षयीकरण हिमाली क्षेत्रको मात्र नभई विश्वव्यापी समस्या भएको उनको भनाइ थियो ।
तीन वर्षअघि सगरमाथा क्षेत्रबाट व्यक्त गरेको उक्त चेतावनीलाई गुटेरेसले हालै संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधनका क्रममा पुनः स्मरण गरेका छन्। उनले जलवायु परिवर्तनको असर अपेक्षा गरिएभन्दा तीव्र गतिमा देखिइरहेको भन्दै त्यसप्रति विश्व समुदाय गम्भीर बन्नुपर्ने सन्देश दिएका छन् ।
पर्यटनविद् आङछिरिङ शेर्पाका अनुसार गुटेरेस नेपाल भ्रमणमा आएका बेला सगरमाथा क्षेत्रको एभरेस्ट भ्यु होटलमा हिमाली क्षेत्रमा भइरहेको जलवायु परिवर्तन, तीव्र गतिमा पग्लिरहेका हिमनदी, बढ्दो हिमताल, हिमपहिरो तथा त्यसको हिमाली समुदाय र पर्वतीय पर्यटनमा परेको प्रभावबारे प्रत्यक्ष जानकारी दिने अवसर मिलेको थियो ।
शेर्पाले त्यतिबेला हिमाली क्षेत्रमा देखिएको परिवर्तन नेपाल वा हिमाली मुलुकको मात्र समस्या नभई सम्पूर्ण मानवजातिको भविष्यसँग जोडिएको विश्वव्यापी सङ्कटका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको बताए ।
“आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालबाट व्यक्त गर्नुभएको त्यही चेतावनी र सन्देश स्मरण गर्दा ३० अक्टोबर २०२३ को त्यो क्षण फेरि आँखा अगाडि झल्झली आउँछ”, उनले भने ।
सगरमाथाबाट गुटेरेसले दिएको ‘विश्वको छाना खसिरहेको छ’ भन्ने अभिव्यक्ति हिमालमा भइरहेको तीव्र परिवर्तनप्रतिको चेतावनी भएको शेर्पाको भनाइ छ। उनका अनुसार अहिले हिमनदी तीव्र रूपमा पग्लिनु, हिमताल विस्तार हुनु तथा हिमपहिरो र बाढीका जोखिम बढ्नुले उक्त चेतावनीको सान्दर्भिकता थप स्पष्ट भएको छ ।
हिमाली समुदाय र पर्यटन क्षेत्रसमेत जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित भइरहेको उनले बताए। “त्यो केवल भावनात्मक अभिव्यक्ति थिएन, हिमालमा देखिइरहेको वास्तविक परिवर्तनप्रतिको चेतावनी थियो”, शेर्पाले भने ।
सगरमाथाको आधारबाट विश्वका नेताहरूलाई दिइएको गुटेरेसको सन्देश अहिले अझ सान्दर्भिक भएको उनको भनाइ छ। नेपालका हिमालले विश्वलाई पानी, जैविक विविधता, प्राकृतिक सम्पदा, साहस र प्रेरणा प्रदान गर्दै आएकाले हिमाल संरक्षणमा विश्व समुदायले समेत जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने उनले बताए ।
पछिल्ला वर्षहरूमा नेपालको हिमाली क्षेत्रमा हिमनदी पग्लिने क्रम, हिमतालको विस्तार, हिमपहिरो तथा बाढीका घटनाले जोखिम बढाउँदै लगेका छन्। यसबाट हिमाली बस्ती, पूर्वाधार, पर्यटन र स्थानीय जीविकोपार्जनसमेत प्रभावित हुँदै आएको पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले बताए ।
हिमालयमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा मात्र सीमित नरहेको विज्ञहरूको भनाइ छ। हिमालयबाट उत्पत्ति हुने नदी प्रणालीमा निर्भर दक्षिण एसियाको ठूलो जनसङ्ख्या र कृषि प्रणालीसमेत प्रभावित हुनसक्ने भएकाले हिमाली क्षेत्रमा भइरहेको परिवर्तनलाई विश्वव्यापी जलवायु सङ्कटको महत्वपूर्ण सूचकका रूपमा हेरिँदै आएको छ । रासस

