विराटनगर, असोज ९ गते ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक दिवश रिमाललाई २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ ।

प्रहरी निरीक्षक रिमालले कर्तव्य निर्वाहका क्रममा देखाएको साहस, व्यावसायिकता, उच्च मनोबल र जोखिम मोलेर गरेको उद्धार कार्यको मूल्याङ्कन गर्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

भदौ ५ गते इलाम नगरपालिका–७, कुलधारास्थित कुवेरप्रसाद शर्माको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही स्थानका ४७ वर्षीय रामसी डोम ट्याङ्कीभित्र अचेत अवस्थामा रहेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो ।

जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रिमालको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। उद्धारका क्रममा प्रहरी निरीक्षक रिमालले जोखिम मोलेर आफैं सेफ्टी ट्याङ्कीभित्र प्रवेश गरी अचेत अवस्थामा रहेका रामसी डोमलाई सकुशल बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कर्तव्य निर्वाहका क्रममा उच्च जोखिमको पर्वाह नगरी नागरिकको जीवन रक्षाका लागि देखाएको तत्परता तथा साहसका साथै अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ रूपमा जिम्मेवारी पूरा गरेको भन्दै उनको कार्यसम्पादनलाई कोशी प्रदेश प्रहरी कार्यालयले उच्च मूल्याङ्कन गरेको जनाएको छ ।

प्रहरी संगठनको आदेश–निर्देशन तथा विभागीय मूल्य–मान्यताको पालना गर्दै उच्च मनोबलका साथ कार्यसम्पादन गरी आम नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन तथा प्रहरी संगठनको गरिमा र प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्‍याएको आधारमा रिमाललाई भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार