जलेश्वर, असोज ८ गते ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन समिति सदस्य बजरङ्ग नेपालीको आफ्नै वडामा नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको वडा अधिवेशन हुन सकेको छैन।

जलेश्वर नगरपालिका–५, पर्सापतैलीमा वडा अधिवेशनको टुङ्गो लाग्न नसकेको कांग्रेस क्षेत्रीय सचिव दिलीप चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्रीय सदस्य नेपालीले वर्तमान वडा सभापति दिलीपकुमार चौधरी (सरोज) लाई नै पुनः निरन्तरता दिनुपर्ने अडान राखेपछि नेतृत्व चयनमा सहमति जुट्न नसकेको हो।

नेपाली पक्षले वर्तमान वडा सभापति चौधरीलाई नै निरन्तरता दिनुपर्ने धारणा राखेपछि रामविनय राउत शर्मा पक्षले भने लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने माग अघि सारेको छ। यही विवादका कारण वडा अधिवेशन प्रक्रिया रोकिएको बताइएको छ।

नेपाली पक्षले अधिवेशन नै नगरी रातारात वडाका लागि पठाइएको निर्वाचन अधिकृतलाई राजीनामा गराई अर्को मतदान अधिकृत पठाएर मध्यरातमा बन्द कोठामा आफ्नो अनुकूल माइनेट तयार पारेको आरोप नेत्री अनिता शर्माले लगाउनुभयो। उहाँले उक्त प्रक्रिया आफूहरूलाई स्वीकार्य नभएको बताउनुभयो।

वडा नेतृत्व चयनमा सहमति कायम हुन नसक्दा जलेश्वर नगर अधिवेशनसमेत अन्योलमा परेको छ। क्षेत्रीय सचिव चौधरीका अनुसार जलेश्वर नगरपालिकाको वडा नं. ५ बाहेक क्षेत्र नं. ३ का अन्य सबै स्थानमा सर्वसम्मत रूपमा वडाअधिवेशन सम्पन्न भइसकेको छ र नगर अधिवेशनको तयारी भइरहेको छ।

स्थानीय युवा प्रभास शर्माले पार्टीभित्र लोकतान्त्रिक विधि र प्रतिस्पर्धाको अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँका अनुसार कुनै एक व्यक्तिलाई सर्वसम्मत रूपमा निरन्तरता दिने प्रयासभन्दा कार्यकर्तालाई नेतृत्व चयनको लोकतान्त्रिक अधिकार प्रयोग गर्ने अवसर दिनुपर्ने मागका कारण पनि विवाद समाधान हुन नसकेको हो।

केन्द्रीय तहमा अनुशासन र लोकतान्त्रिक प्रक्रियाको पक्षमा वकालत गर्ने नेताकै आफ्नै वडामा नेतृत्व चयन प्रक्रिया विवादित बनेपछि यस विषयले कांग्रेस कार्यकर्तामाझ चासो बढाएको छ।

नेपाली कांग्रेसका नेता एवं महोत्तरी कांग्रेसका जिल्ला सचीव दिपक मिश्रका अनुसार महोत्तरी क्षेत्र न. ३ का ३५ वडा मध्ये ३४ वडामा सर्वसम्मतले अधिवेशन सम्पन्न भइसकेको छ।जलेश्वर नगरपालिका वडा न. ५ मा मात्र बजरङ्ग नेपालीको सिङ्गो अडानका कारण वडा अधिवेशन नभएको र आफ्नो वडा अधिवेशनबाट बन्चित हुने जोखिम रहेको नेत्री अनिता शर्माले बताउनुभयो।

क्षेत्र न. ३ को ५ पालिकामध्य मटिहानी नगरपालिकामा नगरस्तरीय अधिवेशन सम्पन्न भएको र अन्य पालिकामा प्रक्रिया जारी रहेको जनाइएको छ।मटिहानीमा भने मदन चौधरीको नेतृत्वमा सर्वसम्मतले नगरसमिति चयन भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार