काठमाडौँ, असोज १३ गते ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारका लागि नेपाल प्रहरीले विशेष राहत कार्यक्रम घोषणा गरेको छ ।

नेपाल प्रहरी नीति निर्माण समितिको सोमबार बसेको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो ।

प्रहरीका अनुसार प्रभावित परिवारलाई तत्कालीन राहतमा मात्र सीमित नराखी दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने योजना अघि सारिएको छ। त्यसका लागि परिवारका सदस्यको आवश्यकता र रुचिअनुसार सीपमूलक तथा व्यावसायिक तालिम उपलब्ध गराउने र रोजगारीको व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ ।

बाढीका कारण परिवार तथा व्यक्तिगत रूपमा क्षति व्यहोरेका प्रहरी कर्मचारी र उनीहरूका आश्रित सदस्यको जीवनयापन सहज बनाउन कल्याणकारी कार्यक्रम सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ ।

राष्ट्र र नागरिकको सुरक्षाका लागि जोखिमपूर्ण अवस्थामा समेत जिम्मेवारी निर्वाह गर्ने प्रहरी कर्मचारीको योगदानलाई ध्यानमा राख्दै प्रभावित परिवारको शिक्षा, सीप विकास र पुनःस्थापनालाई प्राथमिकतामा राखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार