गाैशाला, असाेज १४ गते ।
४७ औँ विश्व पर्यटन दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसायी संघ जलेश्वर, महोत्तरीले नेपाल–भारत सीमा मलीवाडामा भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई भव्य स्वागत गरेको छ ।

नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि आएका भारतीय पर्यटकलाई संघले दोसल्ला ओढाएर तथा मिष्ठान्न खुवाएर स्वागत गरेको हो । भ्रमण सकेर भारत फर्किने पर्यटकलाई समेत कार्यक्रमका क्रममा बिदाइ गरिएको थियो ।

होटल तथा पर्यटन व्यवसायी संघ जलेश्वरका अध्यक्ष सरोजकुमार चौधरीको अध्यक्षतामा आयोजित पर्यटक स्वागत तथा सम्मान कार्यक्रममा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेल, सुरक्षा निकायका प्रमुख तथा स्थानीय पर्यटन तथा होटल व्यवसायीहरूको सहभागिता थियो ।

संघका अध्यक्ष चौधरीका अनुसार सीमा क्षेत्रसँगै महोत्तरीका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र स्थानीय व्यापार व्यवसायमा वृद्धि ल्याउने उद्देश्यले विगत सात वर्षदेखि विश्व पर्यटन दिवसका अवसरमा पर्यटक स्वागत कार्यक्रम आयोजना हुँदै आएको छ । ओझेलमा परेका पर्यटकीय स्थलमा पर्यटकको सहभागिता बढाउनसमेत यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।

नेपाल प्रवेश गर्ने क्रममा गरिएको आतिथ्य सत्कारबाट पर्यटकहरू उत्साहित देखिएका थिए । उनीहरूले नेपाली आतिथ्य सत्कारको प्रशंसा गर्दै नेपाल भ्रमणका क्रममा पाएको स्वागतले आफूहरूलाई खुसी बनाएको प्रतिक्रिया दिएका थिए ।

पर्यटकलाई स्वागत गर्दै नगरप्रमुख सुरेश साह सोनारले पर्यटकका लागि आवश्यक र सहज वातावरण निर्माण गर्न नगरपालिका सक्रिय रूपमा काम गरिरहेको बताए । उनले स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको विकाससँगै पर्यटकलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउन स्थानीय तहले प्राथमिकता दिएको उल्लेख गरे ।

त्यस्तै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेशकुमार दासले पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने बताए । सीमा क्षेत्रमा गरिने पर्यटक स्वागत कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै स्थानीय पर्यटकीय स्थलको प्रचार र व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने उनको धारणा थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार